फाइल तस्वीर
काठमाडौँ, साउन १७ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व बैङ्कका देशीय निर्देशक डेभिड सिसलेनबीच भेटवार्ता भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको कार्यकक्षमा आज भएको भेटमा विश्व बैङ्कले नेपालको ऊर्जा र सिँचाइ क्षेत्रमा गरेको सहयोग र विविध विषयमा छलफल भएको हो ।

भेटमा ऊर्जामन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्र र दातृ निकायलाई साथमा लिएर सरकार अगाडि बढ्ने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रियस्तरमा विद्युत् बिक्री गर्न आवश्यक पर्ने ट्रान्समिटर लाइन निर्माणमा विश्व बैङ्कको सहयोग आवश्यक रहेको बताउनुभयो ।

मन्त्री खड्काले आन्तरिक खाद्यान्न परिपूर्तिका लागि सिँचाइ क्षेत्रको विकास आवश्यक रहेकाले उक्त क्षेत्रमा समेत विश्व बैङ्कको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । विकास निर्माणका क्रममा हुने वातावरणीय प्रभावलाई रोक्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

ऊर्जामन्त्री खड्काले सरकारले १० वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको बताउँदै उक्त लक्ष्य हासिल गर्न विश्व बैङ्कको सहयोग आवश्यक हुने बताउनुभयो । उहाँले विश्व बैङ्कको सहयोगमा बन्न लागेको अपर अरुण जलविद्युत् आयोजनाको काम चाँडो सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा विश्व बैङ्कका देशीय निर्देशक सिसलेन नेपालको ऊर्जा र सिँचाइ क्षेत्रको विकासमा वल्र्ड बैङ्कको सधँै साथ र सहयोग रहने बताउनुभयो । उहाँले अपर अरुण जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्नेगरी काम भइरहेको बताउनुभयो । ऊर्जासँगै सिँचाइको योजनालाई वल्र्ड बैङ्कले प्राथमिकता दिने उहाँको भनाइ थियो ।