फाइल तस्वीरः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी ।
धनगढी, साउन १६ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पर्सी शुक्रबार प्रदेशसभा बैठकबाट विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री सोडारीले आज बुधबार प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै शुक्रबार आफुले विश्वासको मत लिनका लागि आवश्यक व्यवस्थापन गर्न आग्रह गर्नुभएको हो ।

विश्वासको मतको लागि मुख्यमन्त्री सोडारीले गर्नुभएको आग्रह अनुसार सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले १८ गते शुक्रबार दिउँसो ४ बजेका लागि प्रदेशसभाको बैठक बोलाउनु भएको छ ।

केन्द्रीय सत्तामा नयाँ समीकरण बनेपछि त्यसको प्रभाव प्रदेश सरकारहरुमा पनि परेको छ । काङ्ग्रेस एमालेबीच नयाँ समीकरण बनेपछि एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन असार २० गते नै लिइसकेको थियो । संवैधानिक व्यवस्थाअनुसार सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीकै समर्थनमा मुख्यमन्त्री बन्नुभएका सोडरी एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएको थियो ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री सोडारीले चालू वर्षको बजेट पारित गराउन नसक्दा साउन १ देखि सुदूरपश्चिम बजेट शून्यताको स्थिति छ ।

कुल ५३ सदस्यीय प्रदेशसभामा यतिबेला सोडारीलाई नेकपा माओवादी केन्द्रका १० जना, एकीकृत समाजवादीका चार र नागरिक उन्मुक्तिको रञ्जिता पक्षका एक जना गरेर १५ जना सांसदको मात्रै समर्थन रहेको छ । मुख्यमन्त्रीलाई विश्वासको लागि २७ मतको आवश्यकता पर्दछ ।

सुदूरपश्चिम प्रदेशमा नेपाली काङ्ग्रेसका १८, नेकपा एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ६, राप्रपा १ र स्वतन्त्र १ गरी ३७ जना सांसदहरु मुख्यमन्त्रीको विपक्षमा रहेका छन् ।