फाइल तस्वीर
काठमाडौँ, साउन १६ गते । सरकारले त्रिशूलीमा हराएका बस र यात्रुको खोजी गर्न चीनसँग पनि सहयोग माग्ने भएको छ । गत असार २८ गते त्रिशूलीमा बेपत्ता भएका दईवटा बस खोज्न चीनसँग सहयोग माग्ने तयारी भएको गृहसचिव एकनारायण अर्यालले बताउनुभएको हो ।

बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहसचिव अर्यालले ‘खोजीका लागि चीन सरकारसँग पनि अनुरोध गर्ने तयारी गरिरहेका छौँ’ – भन्नुभयो ।

गत असार २८ गते वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जान आउँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालको पहिरामा परी त्रिशूली नदीमा खस्दा यात्रुसहित बेपत्ता भएको थियो ।

दुवै बसमा गरी ६५ जनामध्ये तीन जना हाम्फालेर सकुशल बँच्न सफल भएका थिए भने बेपत्ता भएका ६२ जनामध्ये हालसम्म २४ जनाको शव भेटिएको छ र अझै ३८ यात्रुसहित बसको अवस्था पत्तालगाउन नसकिएको सचिव अर्यालले जानकारी गराउनुभएको थियो ।