फाइल तस्वीर
भक्तपुर, साउन १६ गते । मध्यपुरथिमि नगरपालिका–५ राधेराधे, सङ्गम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजना भित्रको तल्लो क्षेत्रका बासिन्दा गएरातिदेखि नै बाढीबाट प्रभावित भएका छन् । बस्तीभित्र बाढी पसेपछि उनीहरुले सुरक्षित स्थानमा घरका सामान सार्न र आफ्ना सवारीसाधन उच्चस्थानमा सार्न थालेका हुन् ।

भूमिगत पसल तथा साना उद्योगमा सामान हेर्दाहेर्दै डुबे । कसैले आफ्ना सामान जोगाए भने कयौँका बगे । यो क्षेत्रमा हनुमन्ते खोला पसेको होइन, कमेरोटार जग्गा एकीकरण आयोजना र मध्यपुर थिमि नगरपालिकाको लापरबाहीका कारण समस्या भएको हो ।

रातभरको वर्षाले हनुमन्ते र आसपासका सहायक खोला उर्लिँदा आसपासका अस्पताल, विद्यालय, बस्ती, उद्योग, कलकारखाना जलमग्नमात्र भएका छैनन् त्यहाँ लाखौँको क्षति भएको प्रभावित परिवारले बताएका छन् । सूर्यविनायक नगरपालिका क्षेत्रका बालकोटबाट सिरुटारसम्मका ७० भन्दा बढी घर डुबानमा परेका छन् ।

हनुमन्तेको बाढी बालकोट पुलहुदै बस्तीमा पसेपछि मेरिगोल्ड स्कुल, आसपासका बस्ती डुबानमा पर्नुका साथै बिहानदेखि ९ बजेसम्म बालकोट सडक अवरुद्ध भएको छ । सडकबाट भेल बगेपछि बाटामात्र बन्द भएका छैनन् यहाँका विद्यालयहरु पनि बन्द भएका छन् । बालकोटको माइक्रोबस पार्क क्षेत्रका बस्ती डुबनमा परेको छ ।

बालकोट क्षेत्रबाट राति १ बजेदेखि स्थानीयको उद्धारमा खटिएको प्रहरी र स्थानीइले ५० जनाभन्दा बढीको उद्धार गरेका आरएनए ग्रुपका संयोजक अरुण सैजुले जानकारी दिनुभयो । उहाँले रातिदेखि नै भक्तपुर अस्तव्यस्त भएको बताउनुभयो ।