काठमाडौँ, साउन १६ गते । सङ्घीय संसद्अन्तर्गत चारवटा संसदीय समितिको बैठक आज बस्दै छ । आज बुधबार बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकलाई समेत बोलाइएको छ । बैठकमा शान्ति सुरक्षा र कारागार व्यवस्थापन सम्बन्धी छलफल हुने कार्यसूची रहेको छ ।

त्यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बिहान ११ः३० बजे बस्नेछ । बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्तासँग छलफल हुने बताइएको छ ।

त्यसैगरी संसद् सचिवालयका अनुसार पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा नागढुङ्गा सुरुङ मार्ग र नागढुङ्गा–मुग्लिङ सडक खण्डका विषयमा छलफल हुने भएको छ ।

त्यसैगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बिहान ११ः१५ बजे सुरु हुनेछ । बैठकमा सिंहदरबार वैद्यखानाको अवलोकन भ्रमणका विषयमा छलफल हुने बताइएको छ ।