काठमाडौँ, साउन १५ गते । सांसद कृष्णप्रसाद पौडेलले विद्यार्थी दक्ष जनशक्ति निर्माणका लागि शिक्षा मन्त्रालयको योजना के छ भनी प्रश्न गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उहाँले भन्नुभयो, “स्वदेशमै ‘टिक्ने’ र ‘बिक्ने’ जनशक्ति निर्माणमा शिक्षा मन्त्रालयको नीति के छ ?” गत आर्थिक वर्षमा एक लाख १२ हजार चार सय ९३ विद्यार्थी उच्च शिक्षाका लागि विदेश गएको तथ्याङ्क पेस गदै उहाँले यसका लागि रु एक खर्ब ५२ करोडभन्दा बढी रकम मुलुकबाट बाहिरिएको बताउनुभयो ।

विसं २०७१ मा कक्षा १ मा करिब ११ लाख विद्यार्थी भएकामा गत वर्षको एसइई परीक्षासम्म आइपुग्दा करिब ५६ प्रतिशत विद्यार्थीले विद्यालय छाडेको उल्लेख बताउनुभयो । राष्ट्रियसभाको आजको बैठकमा अधिकांश सांसदहरुले विपत् व्यवस्थापन र भइरहेको विभिन्न दुर्घटनाप्रति सरकारलाई ध्यानकर्षण गराउनुभएको छ । 

सांसद कमला पन्तले सौर्य जहाजको दुर्घटनाको सत्यतथ्य पत्ता लगाइ दोषिमाथि कारबाही गर्न माग गर्नुभयो । सांसद जयन्तीदेवी राईले सौर्य जहाज दुर्घटनाका मृतकका परिवारलाई सरकारले नभेटेको गुनासो सुनाउनुभयो । उहाँले थोत्रो जहाज कहिलेसम्म चलाउने ? भन्दै सरकारको जवाफ माग गर्नुभयो ।

सांसद दुर्गा गुरुङले बाढीपरिहराका कारण कर्णाली प्रदेशको सडक बिग्रिएको उल्लेख गर्दै त्यहाँको जनजीवन प्रभावित भएकाले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद नारायणदत्त मिश्रले जहाज दुर्घटनाको निष्पक्ष छानबिन र  किसानले रासायनिक मल नपाएकोमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद भुवनबहादुर सुनारले भर्खर गठन भएको मन्त्रिपरिषद् समावेशी नभएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । 

सांसद मदनकुमारी साह गरिमाले विभिन्न स्थानमा भएका स्कुल बस दुर्घटनाप्रति सरकारको ध्यानकर्षण गराउनुभयो । सांसद सुरेशकुमार आलेमगरले पुतलीसडक–मैतिदेवी सडकखण्डमा दुईतर्फी सवारी सञ्चालनको माग गर्नुभयो ।