फाइल तस्वीरः एमाले महासचिव शङ्कर पोखरेल ।
दाङ, साउन १५ गते । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले मुलुकमा लोकतन्त्रको स्थायित्वका लागि एमालेले नेपाली काङ्ग्रेससँग सहकार्य गरेको जिकिर गर्नुभएको छ । प्रेस चौतारी दाङले आज मङ्गलवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि एमाले र काङ्गेसबीच सहकार्य भएको जिकिर गर्नुभएको हो ।

एमाले र काङ्ग्रेसले राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि संविधान संशोधन गर्न आवश्यक गर्न महसुस गरेको काङ्ग्रेसको साथ खोजेको उल्लेख गर्दै एमाले महासचिव पोखरेलले

राष्ट्रिय दल बन्न ३ प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढेको भन्दै थ्रेसहोल्डको प्रतिशत बढाउन संविधान संशोधन गरिने बताउनुभयो । राजनीतिक अस्थिरताका कारण लोकतन्त्रमाथि नै प्रश्न उठ्न थालेपछि लोकतन्त्रको स्थायित्व, विकास र समृद्धिका लागि एमाले काङ्ग्रेससँग मिल्नुको विकल्प नरहेको भन्दै नेता पोखरेलले जनतामा चरम निराशा र आर्थिक मन्दी बढेको उल्लेख गर्नुभयो ।

लोकतन्त्रमाथि नै खतरा आइपरेको उल्लेख गर्दै एमाले महासचिव पोखरेलले भन्नुभयो —‘राजनीतिक अस्थिरताले अहिलेको व्यवस्थामाथि नै अविश्वास पैदा भएको छ । जनतामा चरम निराशा पैदा गर्ने काम भएकाले त्यसको अन्त्यका लागि एमाले–काङ्ग्रेस जुट्नुपरेको हो ।’

साना राजनीतिक दलहरूले अनावश्यक बार्गेनिङ गरेको गरेको आरोप लगाउँदै महासचिव पोखरेलले सत्तामा पुग्ने र मुलुकमा निरन्तर अस्थिरता सृजना हुने अवस्था आएपछि दुई ठुला राजनीति दल एक ठाउँमा आउनुपरेको दावि समेत गर्नुभयो महासचिव पोखरेलले बताउनुभएको थियो ।

प्रमुख राजनीतिक दलहरूबीच जसरी संविधानसभाबाट हिजो संविधान जारी गर्दा सहकार्य भएको थियो भोलिका दिनमा पनि त्यसरी नै सबै दल मिलेर अघि बढ्ने भन्दै महासचिव पोखरेलले संवैधानिक संरचनालाई बलियो बनाउने गरी दलहरूबीच मा सहकार्य गरेर पाँच वर्ष ढुक्क भएर शासन गर्ने, स्थिर सरकार अनि बलियो प्रतिपक्ष निर्माण गर्न संवैधानिक संरचनामा सुधार गर्न आफुहरु अघि बढेको बताउनुभयो ।

वामपन्थी शक्तिहरुबीच हचुवाको भरमा अब एकता नहुने भन्दै महासचिव पोखरेलले विगतको एकता प्रहसनमात्रै भएकोले कम्युनिस्ट सिद्धान्त र बिचारको आधारमा कार्यकर्ताको मन जोडरमात्रै राजनीतिक ध्रुवीकरणको आवश्यकता रहेको बताउनुभयो ।

नेता पोखरेलले अब कम्युनिस्ट विचार राख्नेहरू एमालेतिर र पुँजीवादी व्यवस्थामा विचार राख्नेहरू काङ्ग्रेससँग ध्रुवीकरण हुन आवश्यक रहेको भन्दै नेपालमा अहिले जस्तो धेरै पार्टीको आवश्यकता नरहेको बताउनुभएका थियो । नेता पोखरेलको भनाइ नेपालमा दुई दलीय व्यवस्थाप्रति इंङ्कित रहेको देखिन्छ । अमेरिकी मोडल नेपालमा लागू गर्न एमाले र काङ्ग्रेस लागेको आरोप लागि रहेको बेला एमाले महासचिव पोखरेलको यो भनाइलाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ ।