फाइल तस्वीर पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामेछाने ।

काठमाडौँ, साउन १५ गते । सहकारी ठगी प्रकरणको छानविन गर्न गठित संसदीय विशेष समितिले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामेछानेसँग सोधपुछ गर्ने भएको छ । सहकारीमा जम्मा भएको रकम ठगी प्रकरणमा नाम जोडिंदै आउनुभएका सभापति लामिछानेसँग तत्कालीन गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाउने भएको हो ।

एमाले सांसद एवम् छानविन समितिका सभापति सूर्यबहादुर थापाले जनाएअनुसार रास्वपाका सभापति लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको तात्कालिन प्रबन्ध निर्देशक र सहकारीको सदस्य रहेको हिसाबले सोधपुछका लागि बोलाउन लागिएको हो ।

रास्वपाका सभापति लामिछाने सूर्य दर्शन, सुप्रिम, स्वर्णलक्ष्मी र सहारा सहकारीको बचत रकम हिनामिनामा मुछिएको आरोप लाग्दै आएको छ । ती सहकारीबाट करोडौं रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको सभापति लामिछानेमाथि आरोप लाग्दै आएको छ । सांसद समेत रहनुभएका रास्वपाका सभापति लामिछानेलाई सोधपुछका लागि कहिले बोलाउने भन्ने बारे मिति तोकिएको छैन । समितिको बैठकमा छलफल चलेकोले निकट भविष्यमै उहाँलाई बोलाउन सकिने बताइएको छ ।

कानुन र कार्यविधिअनुसार समितिले अनुसन्धान गर्ने भन्दै सोधपुछका लागि समितिमा आउने हरेक व्यक्तिलाई दोषी प्रमाणित गरेर सोधपुछ गर्न नखोजेको भन्दै छानविन समितिका सभापति थापाले ‘सोधपुछमा आउने हरेक व्यक्तिलाई दोषी प्रमाणित गरेर सोधपुछ गर्न खोजेका होइनौं’ भन्नुभयो ।