फाइल तस्वीर
काठमाडौँ, साउन १४ गते । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा चालु आर्थिक वर्षको वार्षिक कार्ययोजनामाथि छलफल भएको छ । प्रस्तुत कार्ययोजनामाथि सांसदहरूले विचार राख्नुभएको छ । यसमाथि थप छलफल गरी आगामी बैठकबाट पारित गरिने समिति सभापति मायाप्रसाद शर्माले जानकारी दिनुभयो ।

कार्ययोजनामा समितिले विभिन्न निकायलाई दिएका निर्देशन कार्यान्वयन भए, नभएको अध्ययन गर्ने, कार्यान्वयन नभएका विषयमा पुनः छलफल गरी थप निर्देशन दिने, समितिको अनुगमन मूल्याङ्कनसम्बन्धी प्रतिवेदन तयार गर्ने र सभामा प्रतिवेदन पेस गर्ने विषय समावेश गरिएका छन् । यसैगरी सार्वजनिक नीति, प्रत्यायोजित विधायन, सरकारी आश्वासन, राष्ट्रिय महत्वका दस्तावेज तथा अभिलेख व्यवस्थापन, ऐतिहासिक एवं पुरातात्विक सम्पदा र अध्ययन, अनुगमन एवं निगरानी कार्यक्रमसम्बन्धी विषय कार्यायोजनामा समावेश छन् ।

यसअघि छलफलका क्रममा सांसदहरू श्रीकृष्णप्रसाद अधिकारी, सुमित्रा बिसी, गोमादेवी तिमल्सिना, गोपाल भट्टराई, रुक्मिणि कोइराला, नरबहादुर विष्ट, रेनु चन्द, पदमबहादुर परियार, मदनकुमारी शाह (गरिमा) र समिति सचिव सञ्जय दाहालले समितिको काम प्रभावकारी बनाउन कार्यान्वयन योग्य कार्ययोजना बनाउनुपर्नेमा जोड दिनुभयो ।