प्रस्तावित आयुक्त आयुक्त कृष्णमानसिंह प्रधान ।

काठमाडौँ, साउन १४ गते । निर्वाचन आयोगका लागि प्रस्तावित आयुक्त कृष्णमानसिंह प्रधानले आफु उक्त पदमा नजाने बताउनुभएको छ । प्रस्तावित आयुक्त प्रधानले संसदीय सुनुवाई समितिलाई एक पत्र पठाउँदै आफ्नो नाम फिर्ता लिएको जानकारी गराउनुभएको हो ।

प्रधानले संसदीय सुनुवाई समितिलाई पठाउनु भएको पत्रमा ‘दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर काम गर्ने हौसला र इच्छा बाँकी’ नरहेको भनि उल्लेख गर्नुभएको छ ।

प्रस्तावित निर्वाचन आयुक्त प्रधानलाई संसदीय सुनुवाई समितिको आज सोमबार बस्ने भनिएको बैठकले अनुमोदन गर्ने या नगर्ने भन्ने द्विविधा नै थयो । सम्भवत प्रधानलाई उक्त समितिले अनुमोदन नगर्ने सङ्केत पाएपछि प्रधानले समितिलाई पत्र पठाएर नियुक्ति प्रक्रियाबाट आफु अलग भएको जानकारी गराउनुभएको हो ।

संसदीय सुनुवाई समितिको बैठक आज बिहान ११ बजेका लागि तय भएको थियो । प्रधानलाई समितिले अनुमोदन गर्ने या नगर्ने दोधार रहेकाले बैठक आजै अपरान्ह ५ बजेका लागि सारिएको थियो । बैठक सारेपछि प्रधानलाई उक्त पदमा नजान दवाव परेपछि उहाँले निर्वाचन आयुक्तमा जान अनिच्छा प्रकट गरी समितिलाई पत्र लेख्नुभएको छ ।

समितिलाई लेखिएको पत्रमा प्रधानले ‘मेरा उपर निजी पारिवारिक एवं सामाजिक जीवनमा समेत अतिरन्जित दुष्प्रचार गरी केही समूह सकृयतापूर्वक लागेर चालीसौं वर्षको मेरो गैरसरकारी संस्थाको योगदानको अवमूल्यन गरेकोबाट म दुखित भएको छु’ — भनि उल्लेख गर्नुभएको छ ।

‘संगठित रुपमा लागेपछि झुठहरू कति डरलाग्दो रुपमा प्रभावकारी हुँदा रहेछन् भन्ने अहिले मैले महशुस गरेको छु’ भन्दै प्रस्तावित निर्वाचन आयुक्त प्रधानले ‘भविष्यमा राज्यले प्रदान गर्ने जुनसुकै जिम्मेवारीप्रति निष्ठावान रहने वचनबद्धता’ समेत व्यक्त गर्नुभएको छ ।