फाइल तस्वीरः निर्वाचन आयोगका प्रस्तावित आयुक्त कृष्णमान प्रधान ।
काठमाडौँ, साउन १४ गते । सङ्घीय संसद् अन्तर्गत रहेको संसदीय सुनुवाई समितिको बैठक सरेको छ । निर्वाचन आयोगका प्रस्तावित आयुक्त कृष्णमान प्रधानबारे निर्णय लिन आज सोमबार बिहान ११ बजेका लागि बोलाइएको उक्त बैठक आजै अपरान्ह ५ बजे बस्ने भएको हो ।

संसद् सचिवालयकी सचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार सुनुवाई समितिको बैठक सङ्घीय संसद भवन नयाँबानेश्वरमा बस्नेछ । गत निर्वाचन आयोगमा रिक्त रहेको निर्वाचन आयुक्तका लागि असार २ गते बसेको संवैधानिक परिषद्को बैठकले कृष्णमान प्रधानलाई सिफारिस गरेको थियो ।

यौन हिंसा प्रकरणमा मुछिएका विवादित प्रधानको सुनुवाई समेत पर धकेलिएको थियो । प्रस्तावित आयुक्त प्रधानविरुद्ध संसदीय सुनुवाई समितिमा यौन हिंसाको चार वटा उजुरी परेको थियो । संसदीय सुनुवाई समितिले प्रधानसँग सुनुवाईका क्रममा सोबारेमा जिज्ञासा राखिएको र प्रधानले जिल्ला अदालतमा मिलापत्र भइसकेकोले यो बारेमा बोल्नु आवश्यक नभएको जवाफ दिनुभएको थियो ।

विवादास्पद छवि भएका प्रधानलाई नैतिक आचारण खराब भएको भन्दै निर्वाचन आयोगको आयुक्तमा नियुक्त गर्न नहुने आवाज उठिरहेको छ । प्रधानले विभिन्न दलका नेतृत्व र न्यायाधीशहरुमार्फत् सुनुवाई समितिमा अनुमोदन गर्न दवाव दिंदै आउनुभएको बताइएको छ । यौन हिंसाका आरोपी प्रधानलाई संसदीय सुनुवाई समितिले अनुमोदन गर्ने कि नगर्ने भन्नेमा भन्नेमा दवाव झेलिरहेको छ ।

संसदीय सुनुवाई समितिमाथि यतिबेला नैतिक दवाव परेको देखिन्छ । यसैले पछि आज बिहानका लागि राखिएको बैठक अपरान्हसम्मका लागि सरेको बताइन्छ । नैतिक पतनभएका प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा नियुक्त गर्न अनुमोदन गर्दा समाजमा नकारात्मक सन्देश जानेमा सुनुवाई समितिले प्रधानलाई अनुमोदन नगर्ने बलियो सम्भावना देखिएको छ ।