फाइल तस्वीर सङ्क्रमणकालीन न्यायसम्बन्धी गठित संयन्त्रको बैठक ।
काठमाडौँ, साउन १४ गते । सङ्क्रमणकालीन न्यायसम्बन्धी गठित संयन्त्रको बैठक सकिएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज बिहान बसेको संयन्त्रको बैठक १७ गते बिहीबार बस्ने गरी सकिएको हो ।

संयन्त्रको आजको बैठकमा सदस्यहरु गृहमन्त्री समेत रहनुभएको नेपाली कांङ्ग्रेसका नेता रमेश लेखक, एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा सहभागी हुनुहुन्थ्यो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संसद्को कानुन, न्याय तथा मानव अधिकार समिति सभापति बिमला सुवेदी, महान्यायाधिवक्ता रमेश बडाललगायतको उपस्थिति रहेको थियो । एमालेका मुख्य सचेतक बर्ताैलाले आगामी बिहीबार फेरि बैठक बस्ने गरी आजको बैठक सकिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मूल ऐन, विधेयक र उपसमितिको प्रतिवेदन हेर्ने कुरा भएको छ । त्यसलाई एकीकृत गरी उठेका प्रश्नलाई पनि एकीकृत गर्ने कुरा भएको छ । सबै तयारी गरेर आगामी बिहीबार ८ बजे गृह मन्त्रालयमै बैठक बस्छौँ ।” अहिलेसम्म भएका छलफलको मस्यौदा तयार पारेर आगामी दिनमा त्यसमाथि छलफल केन्द्रित गर्ने उहाँको भनाइ छ । 

यसअघि गत शुक्रबार गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि सहमति जुटाउने विषयमा छलफल भएको थियो ।