फाइल तस्वीरः प्रतिनिधिसभाको बैठक ।
काठमाडौँ, साउन १४ गते । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा दिउँसो १ बजे बस्ने तय भएको हो ।

आज सोमबारको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या र कृषि तथा पशुपन्छी विकासमन्त्रीले सांसदहरुका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेकोे छ ।

संसद सचिवालयका अनुसार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सङ्घीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को उपनियम (२) बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा रहने सदस्यको नाम प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

यसैगरी सभामुख घिमिरेले राष्ट्रियसभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

संसद् सचिवालयद्वारा जारी कार्यसूची अनुसार आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रियसभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यसैगरी आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले ‘विपद् व्यवस्थापनमा पुनरवलोकन, बृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य सङ्कट पूर्व तयारी सम्बन्धमा छलफल गर्न आवश्यक भएकाले’ भन्ने विषयको जरुरी सावर्जनिक महत्त्वको प्रस्ताव राख्नुहुने जनाइएको छ ।