तस्वीरमा प्रतिनिधिसभाको बैठकमा बोल्दै काङ्ग्रेसका महामन्त्री एवम् सांसद् विश्वप्रकाश शर्मा ।

काठमाडौँ, साउन १३ गते । सत्तारुढ दल नेपाली काङ्ग्रेसका महामन्त्री एवम् सांसद् विश्वप्रकाश शर्माले गिरीबन्धु टी स्टेट प्रकरणको छानविन गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आज आइतबार बसेको बैठकमा बोल्दै सांसद शर्माले यस्तो माग गर्नुभएको हो ।

प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले गिरीबन्धु र नक्कली भुटानी शरणार्थी दुवै प्रकरणका दोषी उम्कन नहुने बताउँदै काङ्ग्रेसमाथि लागेको आरोपको छानविन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

‘गिरीबन्धुकोे ७० बिगाहा जमिन काङ्ग्रेसले बेचेर खाएको हो भनेर सिङ्गो पार्टीमाथि नै आरोप लागेको छ । यसबेला म सम्माननीय प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु, गिरीबन्धु जग्गा प्रकरणमा सम्लग्न काङ्ग्रेसका ती व्यक्ति को हुन् तीनले छुट पाउनहुन्न भन्दै महामन्त्री शर्माले यसको तत्काल छानविन गरियोस्, भनि प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गर्नुभयो ।

यसैगरी काङ्ग्रेसका सांसद शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि छानविन हुनुपर्नेमा जोड दिनुभयो । बैठकमा बोल्दै सांसद शर्माले भन्नुभयो —‘नक्कली शरणार्थी प्रकरणमा पनि त्यही हो। निर्दोष कोही फस्नुहुन्न, दोषी कोही उम्कनुहुन्न। जुनबेला नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खुलेको बेला काङ्ग्रेस र माओवादीको सरकार थियो । अहिले सरकारमा नेकपा एमाले पनि आइपुगेको छ । जो परीक्षामा सँगै सामेल छ । यसलाई निष्कर्षमा पुर्याउन सक्छौँ ।’