फाइल तस्वीर
काठमाडौँ, साउन १३ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशन सकिएको महिना दिन पुग्न लाग्दा पनि पदाधिकारी चयन गर्न विलम्ब गरेको छ । पदाधिकारीमा रहन धेरै आकाङ्क्षीहरु रहेकाले नेतृत्वलाई पदाधिकारी चयन गर्न समस्या देखिएको हो ।

गत असार १६देखि २१ गते सम्म राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न महाधिवेशनले २१ जना पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको थियो । पार्टीको कार्यकारी पद अध्यक्ष र महासचिवमा सर्वसम्मत निर्णय गरेको एकीकृत समाजवादीले महाधिवेशनका क्रममा ९३ सदस्यमात्रै केन्द्रीय सदस्य चयन गरेको र बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरु नेतृत्वले गर्ने भनिएको थियो ।

एकीकृत समाजवादीले पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव र सचिव गरी १८ जना पदाधिकारी छान्नु पर्ने छ ।तर पदाधिकारीमै आकाङ्क्षीहरु धेरै देखिएकोले पदाधिकारी र केन्द्रीय कमिटीलाई पूर्णता दिन ढिलाई हुँदै आएको छ ।

पदाधिकारीमा आकाङ्क्षीहरु धेरै देखिएकाले एकीकृत समाजवादीले पहिले केन्द्रीय सदस्य चयन गरेरमात्रै पदाधिकारी छान्ने मनस्थितिमा पुगेको छ । पदाधिकारीमा सहमति जुट्न नसके केन्द्रीय कमिटीको बैठक राख्ने र पदाधिकारीका लागि त्यहाँ मतदान गर्नुपर्ने अवस्थाप्रति नेतृत्वको आँखा तानिएको छ ।

एक नेताका अनुसार पहिले केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको छ । त्यसो त केन्द्रीय सदस्यका लागि पनि नेतृत्व पङ्तीलाई सकस परिरहेको छ । महाधिवेशन सम्पन्न भएको करिब एक महिना भित्र पदाधिकारी र केन्द्रीय कमिटीलाई पूर्णता दिने भनेको एकीकृत समाजवादीले नेताहरुको व्यवस्थापन गर्न समस्या देखिएको छ । भोलि १४ गते सम्ममा पदाधिकारी र केन्द्रीय कमिटीलाई पूर्णता दिने भनिएता पनि सहमति जुट्न नसक्दा साउन १६ गतेसम्ममा पूर्णता दिने भनिएको छ ।

पदाधिकारी र केन्द्रीय सदस्यहरुका आकाङ्क्षीहरुलाई पार्टीले व्यवस्थापन गर्न नसके कतिपय व्यक्तिहरु पार्टी परित्याग गरी पुरानो पार्टी एमालेमा जाने आङ्कलन पनि गर्न थालिएको छ ।