फाइल तस्वीर नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठक
काठमाडौँ, साउन १३ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अस्ति शुक्रबारदेखि सुरुभएको पदाधिकारी बैठक आज आइतबार पनि बसेको हो ।

पार्टीका प्रवक्तासमेत रहनुभएका उपाध्यक्ष अग्निप्रसाद सापकोटाका अनुसार बैठकमा देशको वर्तमान राजनीतिक घटनाक्रम र पार्टी निर्माणका विषयमा गहन छलफल चलिरहेको छ ।

शुक्रबार सुरुभएको पहिलो दिनको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको पछिल्लो राजनीतिक परिस्थिति र आगामी कार्य कार्यदिशाका बारेमा बैठकलाई अवगत गराउनुभएको थियो । हिजो शनिबार बसेको बैठकमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, उपमहासचिवहरू वर्षमान पुन, शक्तिबहादुर बस्नेत, सचिवहरू राम कार्की, चक्रपाणि खनाल, हितराज पाण्डेले विचारको विकास र पार्टी निर्माणबारे धारणा राख्नुभएको थियो ।

आजको बैठकमा पदाधिकारी सदस्यहरुले आ–आफ्नो धारणा राख्नु हुने बताइएको छ । देशको राजनीतिक केन्द्रविन्दुमा रहेको नेकपा माओवादी केन्द्र यतिबेला संसद्मा प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहन पुगेको छ । विगत एक दशकदेखि कुनै न कुनै रुपमा सत्ता साझेदार दल र सरकारको समेत नेतृत्व गर्दै आएको माओवादी केन्द्र संसदका दुई मुख्य दलहरुबीच सत्ता गठबन्धन भएपछि तेस्रो ठूलो दल प्रतिपक्षमा बस्न पुगेको हो ।

पटक पटक पार्टी विभाजन र साङ्गठनिक शक्ति क्रमशः क्षयीकरण हुँदै जाँदा माओवादी केन्द्रको अस्तित्वमाथि नै प्रश्न चिन्ह खडा हुने देखिएको छ । विलासिताको जीवनशैली अपनाउने र कार्यकर्ताको व्यवस्थापन गर्नेतर्फ नेताहरुले ध्यान नदिंदा पार्टी कमजोर बन्दै गरेको हो । नेताहरु एउटा कोटरी र गुटमा रमाउने र पार्टीको राजनीतिक भविष्य नदेख्दा कार्यकर्ताहरु पलायन हुने र भएका पनि निश्क्रिय भएर बसेका छन् ।

एक दशकसम्म सरकारमा रहेको माओवादी केन्द्रले कार्यकर्ताहरुलाई एमाले—काङग्रेसले जस्तै संरक्षण र व्यवस्थापन गर्नेतर्फ ध्यान दिएको भए सायद पार्टी यो अवस्थामा पुग्ने थिएन । एमाले–काङ्ग्रेसको सङ्गठन बलियो हुनुमा मुख्य त कार्यकर्ताको संरक्षण र व्यवस्थापन भन्ने हेक्का माओवादी नेतृत्वले बुझ्न सकेन या पार्टीलाई अगाडि लैजान सकिंदैन, मौकामा चौका हान्नुपर्छ भन्ने मनोदशाबाट ग्रसित हुन पुगेका हुन् त्यो त सङ्गठन स्खलित हुनुले प्रष्ट्याउँछ ।

सरकारमा रहेका बेला गत वर्ष पनि माओवादी केन्द्रले तीन महिने अभियान सुरु गर्यो । तर अभियानले खासै सङ्गठन विस्तार गर्न र भएको सङ्गठनलाई पनि चुस्त बनाउन सकेन । माओवादी केन्द्रभित्र कार्यकर्तामाझ ठूलो निराशा र वितृष्णा छ । यद्यपि, नेताहरु यो कुरा स्वीकार गर्न चाहँदैनन् । जारी पदाधिकारी बैठकले यस विषयमा निर्मम ढङ्गले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता छ ।

पार्टीको पदाधिकारी बैठक सकेपछि स्थायी समिति हुँदै केन्द्रीय समितिसम्मको बैठक ठाक्ने पार्टी प्रवक्ता अग्नीप्रसाद सापकोटाको भनाइ छ । केन्द्रीय समितिमा पेश गर्ने एजेण्डाका स्थायी समितिको बैठकले तय गर्ने र आगामी भदौमा केन्द्रीय समितिको बैठक बोलाउन सक्ने बताइएको छ ।


पार्टीका बैठक बसेर मात्र सङ्गठन बलियो हुँदैन, मुख्यत कार्यकर्तालाई चलायमान बनाउने तौर तरिका अपनाउनुपर्दछ । नेताहरु केन्द्रमा बसेर कार्यकर्तालाई आदेश दिनेभन्दा पनि सङ्गठन विस्तार गर्न जनताका घर–दैलोमा जानुको विकल्प छैन । अब माओवादी केन्द्र सरकारमा जानेभन्दा पनि अबको तीन वर्ष विसं २०८४ मा हुने स्थानीय, प्रदेश र संसदीय निर्वाचनलाई लक्षित गर्नु बुद्धिमता हुनेछ ।