फाइल तस्वीर उपसभामुख इन्दिरा रानामगर ।


काठमाडौँ, साउन १० गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरलाई कारवाही गर्नु नपर्ने जनाएको छ । रास्वपाको आज बिहीबार बसेको केन्द्रीय समितिको बैठकले उपसभामुख रानामाथि लगाइएको आरोप पुष्टि नभएको भन्दै कारवाही नगर्ने निर्णय गरेको हो ।

उपसभामुख रानाले चार जना पुरुष र एक महिला गरी पाँच जनालाई अमेरिकामा आयोजना हुने एक कार्यक्रममा जानका लागि आर्थिक लेनदेन गरी भिसाका लागि सिफारिस गरिएको भन्दै संसदमा सत्तापक्ष र विपक्षी रास्वपाका सांसदहरुबीच जुहारी नै चलेको थियो ।

रास्वपाले अमेरिकी दूतावासमा उपसभामुख रानाले पत्राचार समेत नगरेको दावी गरेको छ । आज बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णयबारे जानकारी गराउँदै रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले भन्नुभयो ‘उपसभामुखको त्यो पत्रबारे हामीले आफ्नो स्रोतबाट बुझ्यौं । अमेरिकी दूतावासमा दर्ता पनि भएको रहेनछ।’

सिफारिसमा परेका व्यक्तिले त्यसको सुविधा उपभोगसमेत नगरेको भन्दै उनले पत्रमा गलत आशय पनि नदेखिएको भन्दै प्रवक्ता झाले ‘सिफारिस गरिएका कसैले पनि त्यसको सुविधा नपाएको, कार्यान्वयनमा त्यो पत्र कतै पनि नगएको, अनि अभियोग लगाइएको जस्तो आर्थिक चलखेल पनि कतै नभएको र यसमा आशय पनि गलत छैन, नियत पनि गलत छैन’ — भन्नुभयो ।