फाइल तस्वीर
बाँके, साउन १० गते । बाँकेको जमुनाह सीमा नाकाहुँदै भारतबाट गत आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ११ करोड ६१ लाखको आलु आयात गरिएको छ । सो अवधिमा चार करोड ४९ लाख ८४ हजार ६ सय ६९ किलो आलु भारतबाट आयात गरिएको हो ।

नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार आर्थिक वर्ष २०७९/८० भन्दा गत आवमा १८ करोड रुपैयाँको आलु बढी आयात गरिएको हो । आर्थिक वर्ष २०७९/८० मा ९३ करोड ६० लाख ६९ हजार रुपैयाँ बराबरको तीन करोड ७५ लाख ८५ हजार ८८ किलो आलु आयात गरिएको थियो ।

आलु आयातबाट आव २०७९/८० मा १४ करोड ७७ लाख २२ हजार रुपैयाँ तथा गत आव २०८०/८१ मा २७ करोड २२ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी लम्सालले बताउनुभयो । अघिल्लो आवको तुलनामा गत आवमा १३ करोड रुपैयाँ राजश्व वृद्धि भएको छ ।

पछिल्लो समय बाँके, बर्दिया, दाङ, सल्यानलगायतका जिल्लामा आलु उत्पादन उल्लेखनीय मात्रामा बढ्दै गए पनि भारतबाट आयात भने नघटेको कृषि ज्ञान केन्द्रका प्रमुख सकील अहमदले बताउनुभयो । उहाँका अनुसार आलु र प्याजमा आत्मनिर्भर बन्न सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि आयातमा कमी आउन सकेको छैन ।