फाइल तस्वीर
काठमाडौँ, साउन १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठकले कर्णाली प्रदेशमा विशेष अभियान चलाउने निर्णय गरेको छ । उक्त पार्टीको आज बिहीबार बसेको केन्द्रीय समितिको बैठकले विशेष अभियान चलाउने निर्णय गरेको हो ।

रास्वपाले आगामी भदौ दोस्रो सातादेखि अभियान विभागका प्रमुख विपिन आचार्यको नेतृत्वमा अभियान चलाउने निर्णय गरेको उक्त पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराउनुभएको छ ।

बैठकले पार्टीको विधान परिमार्जनका लागि ९० दिनको समय सिमा तोक्दै कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा ११ सदस्यीय कार्यदलसमेत गठन प्रवक्ता झाले बताउनुभयो ।

समसामयिक राजनीति, कार्यशैली लगायतका विषयमा समीक्षा गर्न क्लोज क्याम्प गर्ने रास्वपाको निर्णय छ भने अरनिको पाँडेलाई फेरि केन्द्रीय सदस्य मनोनित गरेको छ । यसअघि राष्ट्रिय योजना आयोगको सदस्य भएपछि पाँडेले रास्वपा छाडेका थिए । योजना आयोगबाट राजीनामा दिएपछि पुनः पार्टीमा सक्रिय भएका हुन् ।

बैठकले पार्टीको सम्बन्धमा सार्वजनिक बहसमा आएका विषयमा अध्ययन अनुसन्धानका लागि केन्द्रीय अनुशासन आयोगलाई अनुरोध गर्ने निर्णय गर्नुको साथै राष्ट्रिय योजना आयोजका पूर्वसदस्य अरनिको पाँडेलाई पुनः केन्द्रीय समितिमा चयन गर्ने निर्णय गरेको प्रवक्ता झाले जानकारी गराउनुभयो ।