तस्वीरमा प्रधानमन्त्री केपी शर्मा ओली र काङ्ग्रेस सभापति शेरबहादुर देउवा ।


काठमाडौँ, साउन १० गते । सत्तासाझेदार दल नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाली काङ्ग्रेसबीच राजदूत नियुक्त गर्ने विषयमा भागबण्डा मिलेको छ । एमालेका अध्यक्षसमेत रहनुभएको प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र काङ्ग्रेस सभापति शेरबहादुर देउवाबीच भागबण्डाको आधारमा राजदूतहरु नियुक्त गर्न सहमत हुनुभएको हो ।

गठबन्धनका मुख्य यी दुई ठूला दलका शीर्ष नेताहरुबीच भएको समझदारी अनुसार एमालेले चीन, रुस, अमेरिका र बेलायतमा र नेपाली काङ्ग्रेसले भारत, मलेसिया, जापान र अस्ट्रेलियामा गरी चार/चार देशमा आफ्ना पार्टी निकटकालाई राजदूत बनाउने भएका छन् ।

एमाले सम्मिलित पूर्ववर्ती सरकारले ११ देशका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । एमाले र काङ्ग्रेसले अब माओवादी केन्द्र र एकीकृत समाजवादी निटक राजदूतहरुलाई पनि फिर्ता बोलाएर रिक्त सबैस्थान भागबण्डाकै आधारमा राजदूत नियुक्त गर्ने भएका छन् । नेपाली काङ्ग्रेस प्रतिनिधिसभाको ठूलो दल भएकाले उसले एमालेको भन्दा एक जना बढी राजदूत पाउने सहमति भएको स्रोतको भनाइ छ ।

सरकारले चीन र रुसका राजदूतहरुलाई फिर्ता बोलाउने तयारी गरेको छ । चीनमा नेकपा माओवादी केन्द्रका विष्णुपुकार श्रेष्ठ र रुसमा एकीकृत समाजवादीका मिलनराज तुलाधर राजदूत हुनुहुन्छ । अस्ट्रेलियाका राजदूत कैलाशराज पोखरेललाई केपी ओली नेतृत्वको सरकारले फिर्ता बोलाउने छ । अस्ट्रेलियाका राजदूत पोखरेल पनि एकीकृत समाजवादी निटक हुनुहुन्छ ।

एमाले सम्मिलित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले फिर्ता बोलाएका राजदूतहरुमध्ये भारतका लागि नेपाली राजदूत शङ्कर शर्मा अझैपनि सोही पदमा कार्यरत हुनुहुन्छ । सम्भवत नेपाली काङ्ग्रेसले उहाँलाई नै निरन्तरता दिन सक्ने देखिन्छ । राजदूत शर्मा काङ्ग्रेसकै सिफारिसमा भारतका लागि राजदूत नियुक्त हुनुभएको हो ।