फाइल तस्वीर
काठमाडौँ, साउन १० गते । प्रतिनिधिसभाको चौंथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले समितिको बैठक पार्टी केन्द्रीय कार्यालय बालाजुमा आज बिहीबार बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।

आजको बैठक पार्टीको सङ्गठन, आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनका बारेमा केन्द्रीत हुने बताइएको छ । बैठकमा रास्वपा केन्द्रीय समितिमा पार्टीको तर्फबाट प्रतिनिधिसभाको उपसभामुख बन्नुभएकी इन्दिरा रानामगरको हस्ताक्षर सहित लेटरप्याडमा नेपालस्थित अमेरिकन दूतावासलाई पाँच जना व्यक्तिको भिसाका लागि लेखिएको भनिएको पत्रको बारेमा समेत छलफल हुने बताइएको छ ।

रास्वपाको कोटाबाट प्रतिनिधिसभाको उपसभामुख बन्नुभएकी इन्दिरा रानामगरले असम्बन्धित पाँच जना व्यक्तिहरुलाई भिसाका लागि अमेरिकी दूतावासलाई पत्र लेखि पठाउनुभएको भन्ने आरोप छ । सोही विषयलाई लिएर प्रतिनिधिसभाको बैठकमा समेत सरकार पक्षीय दलका सांसदहरुले उपसभामुखमाथि तत्काल छानविन गरी कारवाही गर्न माग गर्दै आएका छन् ।

उपसभामुख रानामगरले चार पुरुष र एक महिलालाई भिसाका लागि अन्तर्वार्ताको डेट मिलाइदिन आग्रह गर्दै अमेरिकी दूतावासमा पठाउनुभएको आरोप लाग्दै आएको छ ।