फाइल तस्वीरः प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधान ।
काठमाडौँ, साउन ९ गते । संवैधानिक परिषद्ले निर्वाचन आयोगको आयुक्तमा नियुक्त गर्न सिफारिस गरेका प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाइ सकिएको छ । आज बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गत रहेको संसदीय सुनुवाई समितिको बैठकमा प्रस्तावित आयुक्त प्रधानसँग समितिले आवश्यक सोधपुछ गरेपछि सुनुवाइ सकिएको हो ।

आज बसेको समितिको बैठकमा प्रधानले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुका साथै उहाँविरुद्ध परेका उजुरीको बारेमा समितिका सदस्य सांसदहरुले विभिन्न प्रश्नहरु राख्नुभएको थियो ।

प्रस्तावित निर्वाचन आयुक्त प्रधानले आफ्नो कार्ययोजना प्रस्तुत गरेपछि आफूविरुद्ध परेको उजुरीबारे प्रस्टीकरण र सफाइ दिने क्रममा जिल्ला अदालतमार्फत् उजुरीकर्तासँग मिलापत्र भइसकेको बैठकलाई जानकारी गराउनुभएको थियो । प्रधानको सुनुवाइ सकिए र समितिको आगामी बैठक बसेर प्रधानलाई आयुक्तमा नियुक्त गर्ने या नगर्ने भन्ने विषयमा ठोस निर्णय गरिने भएको छ । यौन प्रकरणमा मुछिनुभएका प्रधानलाई एक महिना अघि बसेको संवैधानिक परिषद्को बैठकले निर्वाचन आयुक्तका लागि सिफारिस गरेको थियो ।