फाइल तस्वीर उपसभामुख इन्दिरा राना


काठमाडौँ, साउन ९ गने । प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपसभामुख इन्दिरा रानामाथि छानविन गर्नु पर्ने माग गरेको छन् । आज बुधबार बसेको समितिको बैठकमा समितिका सदस्य सांसदहरुले प्रतिनिधिसभाका उपाध्यक्ष रानामाथि आर्थिक लेनदेन र मानव तस्करीमा संलग्न भएको भन्दै छानविन गर्न माग गरेका हुन् ।

सांसदहरूले प्रतिनिधिसभाको गरिमामय पदमा बसेर उपसभामुख रानाले मानव तस्करी जस्तो जघन्य अपराधको अरोप लागेकोले उहाँमाथि तत्काल छानविन गरी सत्यतथ्य पत्ता लगाउनुपर्ने बताउनुभएको छ ।

बैठकमा बोल्द सत्तारुढ दल नेपाली काङ्ग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले उपसभामुखमाथि मानव तस्करीको आरोप लाग्नु लज्जास्पद विषय भएको बताउँदै यस्तो घटनाले सांसदहरुको शीर निहुरिएको र यसप्रति गम्भीर छानविन गरी सत्यतथ्य पत्तालगाई निर्दोष भए दोषबाट मुक्त र दोषी भए कानूनी कठघरामा उभ्याउनुपर्नेमा जोड दिनुभयो ।

समितिकी सदस्य एव काङ्ग्रेस सांसद न्यौपानेले ‘ यो कस्तो लज्जास्पद विषय हो ! वास्तवमा हामी सांसदहरुले शीर निहुराउनुपर्ने भएको छ । देशको सम्मानित पदमा बस्नुभएको व्यक्तिले गर्नुभयो कि गर्नुभएन थाहा छैन । तर यसको छानविन हुनुपर्छ कि पर्दैन? हामीलाई हेर्ने बाहिरको देशले नेपालको उपसभामुख मानव बेचबिखनको धन्दामा यसरी अग्रसर भएको छ भनेर बाहिर नभनोस्। यदि त्यसमा उहाँ संलग्न हुनुहुन्न भनेपनि छानविन होस् र दोषबाट मुक्त होस्’ — भन्नुभयो

बैठकमा बोल्दै सरकारको नेतृत्व गरेको पार्टी नेकपा एमालेका सांसद वासुदेव घिमिरेले उपसभामुखको विषय सिंगो संसदसँग जोडिने विषय भएकोले यस प्रकरणमा छानविन गर्नुपर्नेमा जोड दिंदै भन्नुभयो — ‘यो विषय सिङ्गो संसदसँग जोडिएको हुनाले अत्यन्तै गम्भीर खालको विषय हो ।

एमालेका सांसद रघुजी पन्तले उपसभामुख रानाको सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी समेत आएको भन्दै यस विषयलाई गम्भीरतापूर्वक लिएर समितिले कदम चाल्नुपर्ने बताउनुभयो । सांसद पन्तले कानूनी र राजनीतिक पक्षलाई समेत हेरेर विषय अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । ‘कानूनी र वैधानिक रुपले पनि हामीले केही गर्छौं भने कुनै कदम चाल्छौँ भने त्यसको आधार हुनुपर्छ’ भन्नुहुँदै सांसद पन्तले ‘उपसभामुखको विषयमा हामीकहाँ निवेदन पनि आएको छ । यसलाई के गर्ने? यसको कानूनी, राजनीतिक सबै पक्षहरुलाई गम्भीरतापूर्वक हेरेर के गर्न मिल्छ ? फेरि हामीले गरेको काममाथि प्रश्न पनि कतै बाट नउठोस्’ भन्नुभयो ।