फाइल तस्वीरः दुर्घटनामा परी ध्वस्त भएको सौर्य एयरलाइन्स भग्नावशेष ।

काठमाडौँ, साउन ९ गते । त्रिभूवन अन्तर्राष्ट्रिय विमानमा आज बुधबार बिहान भएको सौर्य एयरलाइनसको विमान दुर्घटना हुँदा ज्यान गुमाएका सबै १८ जनाको पोस्टमार्टम सुरु गरिने भएको छ । दुर्घटनामा परी निधन भएका सबैजनाको महाराजगञ्जस्थित त्रिविवि शिक्षण अस्पतालमा पोस्टमार्टम गर्न लागिएको हो ।

मर्मतका लागि काडमाडौँबाट पोखराको यात्रा तय गर्ने वित्तिकै उक्त विमान दुर्घटनामा परेको थियो । उक्त विमानमा सवार सौर्य एयरलाइन्सका व्यवस्थापक, विमानका चालक र कर्मचारीसहित १९ जना थिए । यसमध्ये विमान चालक क्याप्टेन मनिष शाक्यलाई मात्रै जीवित रुपमा उद्धार गरिएको र बाँकी १८ जनाको निधन भएको थियो । क्याप्टेन शाक्यलाई उपचारका लागि सिनामङ्गलस्थित केएमसी अस्पतालमा राखिएको छ । उनको अवस्था पनि गम्भीर रहेको अस्पतालले जनाएको छ ।

दुर्घटनामा परी निधन भएकाहरुको परिवारका सदस्य र सौर्य एयरलाइन्सका प्रतिनिधि आएपछि मात्रै पोस्टमार्टम सुरु गर्ने उक्त अस्पतालले जनाएको छ । उक्त अस्पतालका अनुसार सबै मृतकहरुको शवको पोस्टमार्टम सकेर तीन दिन पछि मात्र परिवारहरुलाई शव जिम्मा लगाउने भएको छ ।

आज बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन विमानस्थलबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको विमान उड्नेवित्तिकै दुर्घटनाभइ आगलागी हुँदा विमानका क्याप्टेन मनिष शाक्यबाहेक अन्य सबै १८ जना यात्रुहरुको मृत्यु भएको थियो ।