काठमाडौँ, साउन ९ गते । आज बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पोखराका लागि उडान यात्रा तय गर्न लागेको उक्त विमानमा सवार मनुराज शर्मा, उहाँकी जीवन संगिनी प्रिजा खतिवडा र छोरा अधिराज शर्माको निधन भएको हो ।

निधन भएका मनुराज प्राविधिक र उनकी जीवन संगिनी प्रिजा उर्जा मन्त्रालयकी कर्मचारी भएको बताइएको छ । उनीहरुको छोरा अधिराज भने नाबालक हुन् ।

दुर्घटनामा परेको विमानमा सवार सबै जना सौर्य एयरलाइन्स कै कर्मचारी भएको विवरणमा उल्लेख भएता पनि मृतकका पारिवारका अनुसार प्रिजा ऊर्जा मन्त्रालयकी कर्मचारी रहेको बताएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार सीआरजे ७ (रजिस्ट्रेसन–एनएएमई) जहाज बिहान ११ बजेर ११ मिनेट जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो । दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा १८ जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ । उक्त विमानका क्याप्टेन मनिषरत्न शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था पनि गम्भीर रहेको जनाइएको छ ।

जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटना ग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले उल्लेख गरेको छ ।