फाइल तस्वीर

काठमाडौँ, साउन ८ गते । पाठ्यक्रम विकास केन्द्रबाट सेवा लिँदा घुस खुवाउनु परेको सांसदको आरोपपछि शिक्षा मन्त्रालयले छानविन समिति गठन गरेको छ । जनता समाजवादीका सांसद वीरेन्द्र महतोले केही दिन अघि प्रतिनिधिसभा बैठकमै आफ्नो छोराको समकक्षता लिन पाँच हजार रुपैयाँ घुस दिनुपरेको जिकिर गरेपछि त्यस विषयमा छानविन गर्न शिक्षा मन्त्रालयले छानविन समिति बनाएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मन्त्रीस्तरीय निर्णय गर्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्तासमेत रहनुभएका उपमहानिर्देशक बसन्तप्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको छ ।

उक्त छानविन समितिमा उपसचिव रामप्रसाद शर्मा र शाखा अधिकृत पुष्पा वाग्लेलाई सदस्यमा राखिएको मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहाल जानकारी गराउनुभयो । मन्त्रालयले समकक्षताको प्रमाणपत्र लिँदा अपनाउनुपर्ने प्रक्रिया, सोमा लाग्ने दस्तुर लगायतका विषयवस्तुका सम्बन्धमा आवश्यक छानविन गरी सात दिनभित्रमा प्रतिवेदन पेस गर्न समितिलाई निर्देशन दिएको मन्त्रालयका प्रवक्ता दाहालले बताउनुभयो ।

भारतीय सीबीएसई कोर्स पढेर नेपालबाट समकक्षता लिँदा ५ हजार घुस दिएपछि मात्रै काम बनेको भन्दै जनता समाजवादीका सांसद वीरेन्द्र महतो प्रतिनिधिसभा बैठकमा खुलासा गर्नुभएको थियो ।