फाइल तस्वीर: निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरिएका कृष्णमान प्रधान ।
काठमाडौँ, साउन ८ गते । कृष्णमान प्रधानको संसदीय सुनुवाइ हुने भएको छ । गत असार २१ गते हुने भनिएकोमा अन्तिम समयमा आएर रोकिएको उक्त सुनुवाई भोलि बुधबार दिउँसो १ बजे समितिको बैठकमा हुन लागेको हो ।

गत असार २ गते बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । परिषदले प्रधानलाई निर्वाचन आयोगको आयुक्तका लागि सिफारिसको पत्र गत असार ४ गते नै सुनुवाइ समितिमा पठाएको थियो । संसदीय सुनुवाइ समितिले प्रस्तावित आयुक्त प्रधानविरुद्ध असार ७ गते उजुरी आह्वान गरेको थियो । सोही दिन समितिले असार २० र २१ गते प्रधानको संसदीय सुनुवाइ गर्ने सहितको कार्ययोजना समेत गरेको थियो । तर उक्त सुनुवाई अन्तिम समयमा आएर रोकिन पुग्दा प्रस्तावित आयुक्त प्रधानको सुनुवाई एक महिनासम्म रोकिंदै आएको थियो ।

प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा समेत काङग्रेस र एमालेका नेताहरुबीच छलफल चलेको छ । उनको सुनुवाइ हुने वा नहुने अझै टुङ्खो नलागेको बताइन्छ । सुनुवाइ समितिले उजुरी आह्वान गर्दा प्रधानविरुद्ध यौन दुर्व्यवहारको उजुरी परेको थियो । सुनुवाइ समितिले उजुरीकर्ताहरुसँग छलफल गरिसकेपछि प्रधानको सुनुवाइ रोकिएको थियो ।

संसदीय सुनुवाइ समितिका सहसचिव निर्मलादेवी लामिछानेअनुसार निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानको सुनुवाइका लागि भोलि बुधबार दिउँसो १ बजे संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ । आयुक्तमा सिफारिस प्रधानको नियुक्ति सुनुवाई पछि मात्रै यकिन हुने बताइएको छ ।