फाइल तस्वीर सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन ।


धनगढी, साउन ८ गते । सुदूरपश्चिम प्रदेशसभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदैछ । नेपाली काङ्ग्रेस र नेकपा एमालेका बहुमत प्रदेशसभा सदस्यहरुले माग गरेपछि आह्वान गरिएको विशेष अधिवेशन आज मङ्गलबार सुरु हुन लागेको हो ।

सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशसभाका एक चौथाइभन्दा बढी सांसदहरुले विशेष अधिवेशन माग गरेपछि प्रदेश प्रमुख मियाँले विशेष अधिवेशन बोलाउन पत्राचार गर्नु भएको थियो । विशेष अधिवेशन आज दिउँसो २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार आजको बैठकमा प्रदेशप्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । सचिवालयका अनुसार बैठकमा छलफलका अन्य विषय तय नभएको भनिएता पनि मुख्यतया विशेष अधिवेशन बोलाउनुको तात्पर्य सरकार फेरबलदल रहेको छ । केन्द्रीय सत्ता समीकरणमा काङ्ग्रेस र एमालेको नयाँ गठबन्धन बनेसँगै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको नेतृत्वमा रहेका प्रदेश सरकारहरुलाई विस्थापित गरी काङ्ग्रेस–एमालेको संयुक्त सरकार बनाउने क्रममा यस प्रदेशमा विशेष अधिवेशन बोलाइएको हो ।