फाइल तस्वीर: नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा


मकवानपुर, साउन ८ गते । बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुनुहुने भएको छ । नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा आज मङ्गलबार मुख्यमन्त्री बन्न लाग्नुभएको हो ।

नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टी एमालेबीच सत्ता समीकरणको नयाँ गठबन्धन बनेपछि अल्पमतमा पर्नुभएका बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जमरकट्टेलले आइतबार पदबाट राजीनामा दिनुभएको थियो ।
हिजो सोमबार नै काङ्ग्रेसबाट बहादुरसिंह लामाले मुख्यमन्त्रीमा दावी पेश गर्ने भनिएता पनि सत्ता साझेदार दल एमालेसँग मन्त्रालयको भागबण्डा नमिलेपछि हिजो दावी पेश हुन सकेको थिएन ।

मन्त्रालय भागबण्डामा दुवै दलबीच भएको छलफल पछि सहमति जुटेकोले आज बहादुरसिंह लामाले आज बिहान ११ बजे बागमती प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गर्दैहुनुहुन्छ । सहमति अनुसार नेपाली काङ्ग्रेसले मुख्यमन्त्रीसहित ७ मन्त्रालय र एमालेले छ वटा मन्त्रालय पाउने छन् ।

नेकपा माओवादी बागमती प्रदेशसभाका संसदीय दलका नेतासमेत रहनुभएको निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मङ्गलबारसम्मको समय सीमा तोकेर बहुमतको सरकार गठनका लागि आह्वान गर्नुभएको थियो । प्रदेश प्रमुखको सोही आह्वान अनुसार काङ्ग्रेस नेता लामाले एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न लाग्नुभएको हो । प्रदेश प्रमुख शर्माले आजै साँझ लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ ।

काङ्ग्रेसको भागमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयसहित संस्कृति, पर्यटन तथा सहकारी, युवा तथा खेलकुद र श्रम रोजगार तथा यातायात मन्त्रालय परेको छ भने एमालेको भागमा आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाई, वन तथा वातावरण, स्वास्थ्य, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय परेको छ ।

काङ्ग्रेस नेता बहादुरसिंह लामाको नेतृत्वमा बन्न लागेको बागमती प्रदेश सरकारमा एमालेबाट जगन्नाथ थपलियाको नेतृत्वमा सरकारमा जाने तयारी छ ।