फाइल तस्वीरः प्रतिनिधिसभाको बैठक ।


काठमाडौँ, साउन ८ गते । सङ्घीय संसद्को प्रतिनिधिसभा बैठक आज बस्दै छ । काठमाडौँको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज मङ्गलबार दिउँसो १ बजे बैठक बस्ने भएको हो ।


आजकोे बैठकमा मन्त्रालयगत सांसदहरूले उठाउनुभएका प्रश्नहरुको जवाफ सम्बन्धित मन्त्रीहरुले दिनुहुने छ । संसद सचिवालयको कार्यसूचीअनुसार बैठकमा सांसदहरूले मौखिक प्रश्नको सोध्ने र सोही बमोजिम मन्त्रीहरुले जवाफ दिनुहुनेछ ।

संसद्को कार्यसूची अनुसार स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरुले दिनुहुनेछ ।

बैठकमा सभामुखले संयुक्त समितिअन्तर्गतको संसदीय सुनुवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची समेत रहेको छ । सभामुखले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा रहेका सदस्यहरूको नाम हेरफेर गरिनेछ ।

यसैगरी सांसद् प्रतिमा गौतमले “डेंगीको प्रकोप तीव्र रूपमा देशभरि फैलिई जनस्वास्थ्य सङ्कट उत्पन्न हुन गई अस्पतालमा गम्भीर अवस्थाका बिरामीहरू भर्ना हुने सङ्ख्यामा वृद्धि, समाजमा डर र त्रासको माहौल उत्पन्न भएकोले डेंगीको प्रभावकारी नियन्त्रण एवं भविष्यमा सिर्जना हुने गम्भीर र दीर्घकालीन असर न्यूनीकरण तथा रोकथामको लागि सरकारलाई निर्देशन दिन अपरिहार्य भएकोले” भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।