मुख्यमन्त्रीमा दावी पेश गर्दै एमालेका सांसद चेतनारायण आचार्य ।

काठमाडौँ, साउन ७ गते । लुम्बिनी प्रदेशको रिक्त मुख्यमन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्यले दावी पेश गर्नुभएको छ । एमाले सांसद आचार्यले ५६ जना सांसदको समर्थनसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष आज सोमबार मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको हो ।

मुख्यमन्त्री बन्न लाग्नुभएका आचार्यले एमालेका २९ जना र नेपाली काङ्ग्रेसका २७ जना गरी ५८ जना सांसदको समर्थन रहेको छ । कुल ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनको लागि ४४ मत आवश्यक पर्दछ ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा यस अघि लीला गिरीको नाम अग्रपङ्तिमा रहेता पनि केन्द्रीय नेतृत्वको निर्देशनमा एमाले लुम्बिनी प्रदेशले मुख्यमन्त्रीमा आचार्यको नाम प्रस्ताव गरेको हो । एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका नेतामा गिरी भएता पनि अन्तिममा आएर केन्द्रले आचार्यलाई मुख्यमन्त्री बनाउन निर्देशन दिएपछि गिरी पछाडि पर्नुभएको हो । मुख्यमन्त्री बन्न लाग्नुभएको सांसद् आचार्य अर्घाखाँची निर्वाचन १ (क) बाट निर्वाचित सांसद हुनुहुन्छ । उहाँ यसअघि लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री हुनुहुथ्यो ।

केन्द्रीय सत्ता समीकरणमा आएको फेरबदल पछि लुम्बिनी प्रदेशमा अल्पमतमा पर्नुभएका नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशसभाको संसदीय दलका नेता जोखबहादुर महराले हिलो आइतबार पदबाट राजीनामा दिनुभएपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गनुभएको थियो । सोही आधार एमाले र काङ्ग्रेसले नेता आचार्यलाई मुख्यमन्त्रीको लागि प्रस्ताव गरेको थियो ।

हिजो आइतबार निवर्तमान मुख्यमन्त्री महराले लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।