फाइल तस्वीर:राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठ


काठमाडौँ, साउन ७ गते । राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा नियमावलीको नियम १४९ बमोजिम विधायन व्यवस्थापन समितिमा मनोनयन हुनुभएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद श्रेष्ठलाई उक्त समितिको सदस्यमा मनोनयन गर्नुभएको हो ।

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले समितिमा सांसद श्रेष्ठको मनोनयनलाई सहमति जनाउनुभएको थियो । आजको बैठकमा अध्यक्ष दाहालले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशशिक सरोकार समयमा सांसदहरुले उठाउनुभएका विषयको राष्ट्रियसभा नियमावली २०७५ मा तोकिएको समयावधिभित्र सभामा आई पूर्वनिर्धारित तालिका अनुसार जवाफ दिन सम्बन्धित मन्त्रीहरुलाई ध्यानाकर्षण गराउनुभएको थियो ।
 
अध्यक्ष दाहालले भन्नुभयो, “जवाफका लागि यसअघि तयार गरिएको कार्यतालिका सम्बन्धित मन्त्रालयमा पुनःपत्राचारमार्फत उपलब्ध गराउन सचिवालयलाई निर्देशन दिन्छु ।”