काठमाडौँ, साउन ६ गते । सङ्घीय संसद्का तीन साना दल जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले मुलुकका विद्यमान समस्या समाधान गर्ने र राजनीतिक स्थिरता कायम गर्ने सर्तमा नयाँ सरकारलाई समर्थन गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमा भाग लिँदै ती दलका नेताहरूले उल्लेखित सर्तका आधारमा प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

जनमत पार्टीका सांसद अब्दुल खानले धेरै नागरिकले शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्लगायत आधारभूत आवश्यकताबाट बञ्चित हुनुपरेको उल्लेख गर्नुहुँदै यी समस्या समाधानतर्फ सरकार केन्द्रित हुनुपर्ने बताउनुभयो । त्यस्तै युवा विदेशिनेक्रम अझै नरोकिएकोले स्वदेशमै रोजगारी सिर्जनालाई सरकारले प्राथमिकतामा राखेर काम गर्नुपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो । अहिलेको मन्त्रिपरिषद्मा दलित र मुस्लिम समुदायको प्रतिनिधित्व हुन नसकेकोमा खानले दुःख व्यक्त गर्नुभयो । “अहिले हाम्रा अगाडि धेरै चुनौती छन्, ती चुनौतीलाई यो सरकारले पार गर्नेछ भन्ने अपेक्षाका साथ विश्वासको मतको पक्षमा मतदान गर्नेछौँ”, खानले भन्नुभयो ।

त्यस्तै, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संसद्का दुई ठूला दल नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर सरकार बनेको र राजनीतिक दललाई सुध्रिनका लागि यो अन्तिम अवसर रहेको धारणा राख्नुभयो । दुई ठूला दलको सरकार असफल भएमा र यो सहकार्य लामो समय जान नसकेमा त्यसपछिको अवस्था पीडादायी र दुःखद् हुने उहाँको भनाइ थियो । अहिलेको सरकारले अपराधलाई राजनीतिक संरक्षण नहुने र राष्ट्रिय हितलाई हेरेर अन्तर्राष्ट्रिय नीति अवलम्बन गर्ने बताउनुभयो ।

लोसपा नेपालका सांसद रामप्रकाश चौधरीले पनि अहिलेको समस्या समाधानका लागि पहल गर्ने विश्वाससहित आफ्नो दलले सरकारलाई समर्थन गर्न लागेको बताउनुभयो । वर्षायाममा बाढी, पहिरो, डुबान, चट्याङलगायत प्राकृतिक विपद् जोखिम न्युनीकरण, राहत तथा उद्धारका कामलाईं प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ ।