काठमाडौँ, साउन ६ गते । जनता समाजवादी पार्टीका नेता वीरेन्द्रप्रसाद महतोले मुलुकमा भ्रष्टाचार र अनियमितताले जरो गाडेको र जनताले सहज रूपमा सेवा नपाउने अवस्था रहेकाले त्यसमा तत्काल सुधार जरूरी रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमा माग लिनुहुँदै महतोले भ्रष्टाचारको जरो चौतर्फी रूपमा फैलिइरहेकाले त्यसलाई नियन्त्रणका लागि सबै राजनीतिक दल एक भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले पार्टी र आफ्नो स्वार्थभन्दा माथि उठेर मुलुकको समस्या समाधानका लागि सबैपक्षको साझा सहमतिमा जोड दिनुभयो । मुलुक र जनताको चाहनाअनुसार संविधान संशोधन गर्नुपर्ने भन्नुहुँदै उहाँले प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा राख्नुभएको विचारको पक्षमा रहेको धारणा राख्नुभयो ।

सांसद महतोले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने जानकारी दिनुहुँदै जनतालाई चाहिने न्यूनतम आवश्यकता सम्बोधन गर्न सरकार कटिबद्ध हुने विश्वास व्यक्त गर्नुभयो । सरकारले राम्रो काम गर्नेमा आफू र आफ्नो पार्टी आशावादी रहेको पनि नेता महतोले उल्लेख गर्नुभयो ।