फाइल तस्वीर

काठमाडौँ, साउन ६ गते । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले जनतालाई सुशासन अनुभूति हुनेगरी वर्तमान सरकाले काम गर्नुपर्ने बताउनुभएको छ । जननायक विश्वेश्वरप्रसाद कोइरालाको ४२औँ स्मृति दिवसका अवसरमा आज बिपी कोइराला मेमोरियल अस्पतालले आयोजना गरेको स्मृतिसभामा उहाँले संसद्का दुई ठूला दल एकै ठाउँमा उभिएकाले वर्तमान सरकारलाई गल्ती गर्ने छुट नभएको बताउनुभयो ।

“जनताले सुशासनको महसुस गर्नेगरी वर्तमान सरकारले काम गर्नुपर्छ, वर्तमान गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकाले काङ्ग्रेस र एमाले सचेत हुनुपर्छ”, डा कोइरालाले भन्नुभयो ।

आफ्नो पार्टी सरकारमा छ त्यसैले उनीहरुले गरेका सबै काम ठीक छन् भनेर कोही पनि चुप लागेर बस्न नहुनेमा उहाँले जोड दिनुभयो । नेता डा कोइरालाले वर्तमान परिप्रेक्ष्यमा बिपी कोइरालाको सिद्धान्तअनुसार काङ्ग्रेसका नेता एवं कार्यकर्ता हिँड्न नसकेका धारणा राख्नुभयो ।