काठमाडौँ, साउन ३ गते । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आगामी संसद् बैठकको कार्यतालिका र कार्यसूचीबारे दलका प्रमुख सचेतकसँग छलफल गर्नुभएको छ । आज बिहीबार बिहान सभामुखको कार्यकक्ष, सिंहदरबारमा बसेको बैठकमा सभामुख घिमिरेले आगामी १५ गते मङ्गलबारसम्म कुन दिन संसद् बैठक र कुन दिन संसदीय समितिका बैठकहरू बस्ने र कार्यसूची के रहने भन्नेबारे छलफल गर्नुभएको हो ।


छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले साउन १५ गतेसम्म ६ वटा संसद् बैठक बस्ने क्यालेन्डर तय हुनुका साथै आगामी साउन ६ गते आइतबार प्रधानमन्त्री खड्गप्रसाद ओलीले लिने विश्वासको मतबारे पनि छलफल भएको बताउनुभयो ।

यस्तै, सदन चलाउने क्यालेण्डरको विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो । बैठकका कार्यसूचीबारे भोलि (शुक्रबार) दिउँसो कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर निर्णय लिइने बताइएको छ । बैठकमा सभामुख घिमिरेले विचाराधिन विधेयकलाई छलफल गराएर संसद्मा ल्याउन सहजीकरण गर्नेबारे पनि जानकारी गराउनुभयो ।


एमालेका मुख्य सचेतक बर्तौलाका अनुसार, आगामी आइतबार, सोमबार र मङ्गलबार नियमित संसद् बैठक बस्नेछ । त्यसपछि बुधबार, बिहिबार र शुक्रबार तीनदिन संसदीय समितिका बैठकहरू राख्नेगरी क्यालेन्डर तय भएको छ । त्यसैगरी यहि साउन १३, १४ र १५ गते पुनः लगातार संसद् बैठक बस्ने कार्यतालिका तय भएको छ ।