फाइल तस्वीर
पर्सा, साउन ३ गते । जिल्ला प्रशासन कार्यालय पर्साले आफ्नो कार्यालयको सेवालाई जिराभवानी गाउँपालिका–४ स्थित सुपौलीमा इलाका प्रशासन कार्यालय विस्तार गर्ने भएको छ । कार्यालयको सेवाप्रवाहलाई जनतामैत्री बनाउनका लागि इलाका प्रशासन कार्यालय विस्तार गर्न लागिएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले आगामी भदौको पहिलो साताभित्रै इलाका प्रशासन कार्यालय सुपौली सञ्चालनमा ल्याउने गरी तयारी थालेको बताउनुभयो । “कार्यालयको सेवाप्रवाहलाई जनतामैत्री बनाउनका लागि इलाका प्रशासन कार्यालय सुपौली सञ्चालनमा ल्याउन खोजेका हौँ,” उहाँले भन्नुभयो, “इलाका प्रशासन कार्यालयको भवन तयार भइसकेको छ । कार्यालय भवनको प्राविधिक मूल्याङ्कन भएर हस्तान्तरणको प्रक्रिया अघि बढिरहेको छ । सम्भवतः हामीले भदौको पहिलो साताभित्रै इलाका प्रशासन कार्यालय सञ्चालन गर्ने गरी तयारीमा जुटेका छौँ ।”

प्रमुख जिल्ला अधिकारी भुसालले इलाका प्रशासन कार्यालय सञ्चालनमा आएसँगै पर्साका ग्रामीण भेगका जनता नागरिकता, राष्ट्रिय परिचयपत्रलगायत सेवा लिनका लागि वीरगञ्ज धाउनुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो । “इलाका प्रशासन कार्यालयले पहिलो चरणमा जीराभवानी, जगरनाथपुर, धोबिनी र ठोरी गाउँपालिकाका जनतालाई सेवा प्रवाह गर्नेछ ।”

जिराभवानी गाउँपालिकाका–४ का स्थानीय रामप्रवेश सिसौरियाले इलाका प्रशासन कार्यालय सञ्चालनमा आएसँगै नागरिकता, राष्ट्रिय परिचयपत्रलगायत कागजात बनाउन सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो । “आफ्नै गाउँघरमा इलाका प्रशासन आउनु पक्कै पनि हाम्रो लागि सुखद खबर हो,” उहाँले भन्नुभयो, “वीरगञ्ज जानुपर्दा एकातर्फ समय र अर्काेतर्फ पैसाको पनि खर्च हँुदै आइरहेको थियो । यो सञ्चालनमा आएसँगै त्यो अप्ठेरोपनको अन्त्य हुने विश्वास लिएका छौँ ।” कार्यालय सञ्चालन भएसँगै यहाँका जनताको २७ किलोमिटर टाढाबाट वीरगञ्ज धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । इलाका प्रशासन कार्यालय सञ्चालनमा आएको केही महिनाभित्रै राहदानी सेवा पनि थप गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

इलाका प्रशासन कार्यालयमा शाखा अधिकृतको नेतृत्वमा ६ जना कर्मचारी रहनेछ । नायब सुब्बा एक, खरिदार एक र दुईजना कम्प्युटर अपरेटर तथा एकजना कार्यालय सहयोगी रहनेछन् । इलाका प्रशासन भवन एक करोड पाँच लाख ९९ हजार रुपैयाँ लागतमा निर्माण भएको हो ।