नवनियुक्त महान्यायाधिवक्ता रमेश बडाल ।

काठमाडौँ, साउन २ गते । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई रिक्त रहेको महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा बडाललाई उक्त पदमा नियुक्त गर्नुभएको हो ।

नवनियुक्त महान्यायाधिवक्ता बडाल यस अघि पनि प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा समेत महान्यायाधिवक्ता भइसक्नुभएको थियो । वडालले यस अघि २०७७ चैतदेखि २०७८ असारसम्म झण्डै चार महिना महान्यायाधिवक्ताको जिम्मेवारी संहाल्नुभएको थियो ।

सरकारको कानूनी सल्लाहकारको रुपमा रहने महान्यायाधिवक्ताले सरकारवादी मुद्दाको अभियोजन र प्रतिरक्षा गर्ने सरकारी वकिलहरुको नेतृत्वकर्ताको भूमिका निर्वाह गर्नुहुन्छ ।

श्रम कानूनका ज्ञाता मानिनुहुने महान्यायाधिवक्ता बडाल एमालेको कानून विभागका प्रमुखका साथै एमालेको भातृसङ्गठनको रुपमा परिचित अखिल नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) मा समेत आवद्ध हुनुहुन्थ्यो ।

निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा महान्यायाधिवक्तामा नियुक्त हुनुभएका डा. दीनमणि पोखरेलले प्रचण्ड प्रधानमन्त्रीबाट हटे लगतै राजीनामा दिएपछि महान्यायाधिवक्ताको पद रिक्त रहेको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।