फाइल तस्वीरः ऋृण लिएर खरिद गरिएको एयरबस ।


काठमाडौँ, साउन २ गते । राष्ट्रिय ध्वजावाहक संस्था नेपाल वायु सेवा निगमले अन्तराष्ट्रिय उडान गर्ने चारवटा जहाज खरिद गर्न लिएको ऋृणको किस्ता बुझाए छ । निगमले दुईवटा वाइडबडी र दुईवटा न्यारोबडीका जहान खरिद गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएर ऋृणको किस्तामध्ये ४३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ बुझाएको हो ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अहिलेसम्म पाँच अर्ब ७९ करोड ७६ लाख ४२ हजार २४९ रुपैयाँ बुझाइसकेको छ । वि.सं. २०१६ साल आषाढमा स्थापना भएको निगमले अन्तर्राष्ट्रिय क्षेत्रमा उडान गर्नका लागि दुई वटा वाइडबडी र दुई वटा न्यारोबडी गरी चारवटा एयरबस खरिद गर्न सरकारको जमानीमा दुवै कोषबाट ऋृण लिएको थियो ।

निगमका अनुसार ऋृण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८१ आषाढ महिनाको किस्ताबापत पूरा र वाइडबडी जहाजको आंशिक गरी ४३ करोड नौ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ भुक्तानी गरेको छ ।

निगमका प्रवक्ता पौडेलका अनुसार निगमले २०८१ आषाढ मसान्तसम्मको अवधिमा ५ अर्ब ७९ करोड ७६ लाख ४२ हजार २४९ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको छ ।

विगतमा राजनीतिक दवाव र विभिन्न काण्डले थलापरेको नेपाल वायुसेवा निगममा पछिल्लो व्यवस्थापन आएपछि केही सुधारको सङ्केत देखिएको बताइन्छ ।

निगमलाई जहाज खरिद गर्न कर्जा उपलब्ध गराएका दुवै कोषहरुलाई कोरोना महामारीको समयमा व्यवसायमा परेको प्रतिकुल प्रभावले थलिएको कारण देखाउँदै त्यस समयमा निगमले तिर्नुपर्ने व्याज, हर्जाना र पेनाल्टी रकम छुटको लागि अनुरोध गर्दै पत्राचार गरेको छ ।

यसैबीच विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गर्न निगमले दुई कोषलाई आग्रह गरेको छ ।