फाइल तस्वीर

काठमाडौँ, साउन १ गते । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल विभाजन भएको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत)बीच २०८० साल बैशाख १८ गते एकता भएको थियो । उक्त कम्युनिस्ट घटकसँग २०८१ बैशाख १९ गते नेकपा (मशाल) सँग एकता भएर भनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल डेढ वर्ष पनि नपुग्दै विभाजन हुन पुगेको हो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सह–संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ले आज मङ्गलबार एक विज्ञप्ति जारी पार्टी विभाजन भएको सङ्केत गर्नुभएको छ । नेता कञ्चनद्वारा जारी विज्ञप्तिमा एकता प्रक्रिया असफल भएको उल्लेख गरिएको छ ।

विशेषगरी पार्टीका संयोजक मोहन वैद्य‘किरण’सँगको सैद्धान्तिक असहमति पछि पार्टी विभाजन भएको सह–संयोजक कञ्चनले आफ्नो विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । नौलो जनवाद र वैज्ञानिक समाजवादको विषयमा उक्त पार्टीमा बहस भएको कुरा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । नेता कञ्चनले आफुमाथि पार्टीभित्र गुटबन्दी गरेको आरोप लगाइएको समेत सङ्केत गर्नुभएको छ ।

सह–संयोजक कञ्चनले एकताभएको अवधिमा पार्टीलाई सुदृढ गर्न आफूहरूले कैयौँ प्रयत्न गरेपनि एकता सफल हुन नसकेको दावी गर्दै जारी विज्ञप्तिमा ‘एकता आज सफल नभए भोलि सम्भव छ तर, अनावश्यक हुने तिक्तताले आन्दोलनलाई लामो समयसम्म नोक्सान गर्छ । दुई वर्षको अवधिमा एकतालाई सुदृढ गर्न हाम्रो तर्फबाट भएका कैयौँ प्रयत्नहरूका बाबजुद हामी सफल हुन सकेनौँ । अतः समय र विषयको संवेदनशीलतालाई मध्यनजर गरेर आजैका मितिबाट एकता प्रक्रिया असफल भएको घोषणा गर्न बाध्य भएका छौँ’— भनिएको छ ।

सह–संयोजक कञ्चनले एकताको आरम्भमा पैदा भएको उत्साह र ऊर्जा जोगाउन नसक्नुमा आफ्नोतर्फबाट पनि कमीहरू भएको उल्लेख गर्दै त्यसप्रति आत्मालोचना समेत गर्नुभएको कुरा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली समाजले माग गरेको वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने अभियानमा दृढतापूर्वक अगाडि बढ्न सबै क्रान्तिकारी, देशभक्त, जनपक्षीय शक्तिहरुलाई समेत नेता कञ्चनले विज्ञप्तिमार्फत आह्वान गर्नुभएको छ ।

Memo Statement1
Memo Statement2