गोदावरी, साउन १ गते । कैलालीको चुरे गाउँपालिका–४ स्थित बालुवागडामा बस्दै आएका ५२ परिवारलाई त्रिपाल वितरण गरिएको छ । गाउँपालिकाले पाँच वर्षअघि पहिराले विस्थापित भएर जङ्गल नजिक बस्दै आएका ५२ पहिरोपीडित परिवारलाई त्रिपाल र २० परिवारलाई सोलार प्यानल वितरण गरेको हो ।

गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले वर्षाका बेला पहिरोपीडित परिवार कष्टकर जीवन बिताउँन बाध्य भएकाले सहयतास्वरुप त्रिपाल र सोलार प्यानल प्रदान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “उनीहरूका आवश्यकताअनुसार सोलार प्यानल र त्रिपाल प्रदान गरिएको हो ।” सबडिभिजन वन कार्यालयले वृक्षरोपण र तारबार गर्ने भन्दै पहिरोपीडित परिवारलाई बिचल्लीमा पारेको आरोप उहाँले लगाउनुभयो ।

यसैगरी, चुरे गाउँपालिका–५ खानीडाँडास्थित भीमदत्त राजमार्ग सडक किनारमा आश्रय लिइरहेका १५ परिवालाई खाद्यान्न, त्रिपाल र सोलार प्यानल वितरण गरिएको छ ।