फाइल तस्वीर

काठमाडौँ, साउन १ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज साउन १ गते मङ्गलवारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । पेट्रोलको मूल्यमा प्रतिलिटर चार रुपैयाँ र डिजेलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँले बढाइएको छ ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर ४ दशमलव ४८ र डिजेलको मूल्य प्रतिलिटर २ दशमलव ८३ रुपैयाँले बढेर आएसँगै मूल्य वृद्धि भएको हो ।

मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६८ दशमलव ५० रुपैयाँ र डिजेलको मूल्य १ सय ५७ दशमलव ५० रुपैयाँ कायम भएको जनाएको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७० र डिजेलको मूल्य १ सय ५९ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७१ र डिजेलको मूल्य १ सय ६० रुपैयाँ कायम भएको जनाएको छ ।