तस्वीरमा नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक ।


काठमाडौँ, साउन १ गते । नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको अध्यक्षतमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले नवनियुक्त सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सरकारको प्रवक्ता तोकेको छ । हिजो असार ३१ गते सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको नवगठित मन्त्रिपरिषद्को बैठकले मन्त्री गुरुङलाई प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

बैठकले सरकारको रिक्त रहेको मुख्य सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका निमित्त मुख्यसचिव लीलादेवी गड्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिने निर्णय गरेको छ ।

हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अविरल वर्षापछि आएको बाढी पहिरोबाट ज्यान गुमाउने मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारमा समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

सरकारका प्रवक्ता समेत रहनुभएका सूचना तथा सञ्चारमन्त्री गुरुङले बैठकपछि सञ्चारकर्मीहरुलाई मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबारे जानकारी गराउनुभएको थियो ।

सरकारका प्रवक्ता गुरुङले लोकतन्त्र स्थापना गर्न योगदान गर्नुभएका ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेको जानकारी गराउँदैअविरल वर्षाका कारण हालै देशका विभिन्न क्षेत्रमा गएको बाढी पहिरोबाट ज्यान गुमाएका र बेपत्ता भएकाहरुको परिवारलाई राहत प्रदान गर्ने निर्णय गरेको जानकारी गराउनुभयो ।

मन्त्रिपरिषद्को बैठकले २०८२ सम्म असार मसान्तभित्र नेपाललाई सडक बालबालिका मुक्त बनाउने, कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय प्राङ्गणमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लड लाइट र प्याराफिट निर्माण तीन सय दिनभित्र सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।

यसैगरी बैठकले जाजरकोट भूकम्प प्रभावितलाई दोस्रो र तेस्रो किस्ताको रकम उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी गराउनुभएको थियो ।

सूचना तथा सञ्चारमन्त्री गुरुङले अबका दिनमा मन्त्रिपरिषद्को निर्णयहरू २४ घण्टासम्म गोप्य रहने त्यसपछि मन्त्रालयमै पत्रकार सम्मेलन गरेर मन्त्रिपरिषद्को बैठक सार्वजनिक गर्ने जानकारी गराउनुभएको छ ।