काठमाडौँ, असार ३१ गते । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सार्वजनिक निकायहरूमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी कार्यविधि स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने पहिलो निर्णय गर्नुभएको छ ।

सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले प्रस्ताव पारित भएमा नेपाली उद्योगको प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । मन्त्री भण्डारीले उद्योग मन्त्रालयले प्रदान गर्ने सेवा र यस क्षेत्रको विकासका लागि नेतृत्व तहबाट आफूले सम्पूर्ण सहयोग गर्ने भन्नुहुँदै कर्मचारीलाई दत्तचित्त भई जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो ।

यसअघिको सरकारमा पनि उहाँ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हुनुहुन्थ्यो । भण्डारी योसहित चारपटक मन्त्री बन्नुभएको हो ।