नवनियुक्त गृहमन्त्री रमेश लेखक ।
काठमाडौँ, असार ३१ गते । नवनियुक्त गृहमन्त्री रमेश लेखकले नारायणगढ—मुग्लिन सडकखण्डमा पर्ने सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गर्नुभएको छ । गृहमन्त्रालय पुगेर आज सोमबार पदभार ग्रहण गर्दै गृहमन्त्री लेखकले मन्त्रालयका सहसचिव छवि रिजालको नेतृत्वमा उक्त घटनाको अध्ययन अनुसन्धान गर्न कार्यदल बनाउने निर्णय गर्नुभएको हो ।

सहसचिव रिजालको नेतृत्वमा बनेको कार्यदलमा ३ सुरक्षा निकायका ३ जना, भौतिक मन्त्रालयका १ जना गरी पाँच सदस्यीय कार्यदल बनेको छ । उक्त कार्यदलले १० दिनको समयभित्र सत्य तथ्यकुरा बुझेर प्रतिवेदन बुझाउने गरी समयसीमा तोकिएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार बिहान करिब साढे ३ बजे खसेको पहिरोले दुई वटा बसलाई सोहोरेर त्रिशूली नदीमा खसालेको थियो ।

सोही दिन बिहानदेखि ती बस र बसमा सवार करिब ६५ जना यात्रुहरुको खोजी कार्य जारी राखिएको छ । हालसम्म ११ जनाको मात्र शव भेटिएको छ । अन्य यात्रु र बस भेटिएका छैनन् ।