फाइल तस्वीरः नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली ।
काठमाडौँ, असार ३१ गते । नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद शर्मा (केपी) ओलीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री ओली आज सोमबार प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।

महाराजगञ्जस्थित शीतल निवासमा रहेको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा एमाले अध्यक्ष ओलीले चौंथो पटक प्रधानमन्त्री पदको शपथ लिनुभएको हो । यसअघि पहिलो पटक २०७२ सालमा प्रधानमन्त्री बन्नुभएका ओली २०७४ सालमा दोस्रो पटक र २०७८ सालमा तेस्रो पटक प्रधानमन्त्री बन्नुभएको थियो । चौंथो पटक प्रधानमन्त्री बन्नुभएका ओले मुलुकको ४५ औँ प्रधानमन्त्री बन्नुभएको छ । प्रधानमन्त्री ओली संसद्को सबैभन्दा ठुलो दल नेपाली काङ्ग्रेसको समर्थनमा प्रधानमन्त्री बन्नुभएको हो । यसअघि उहाँ २०७८ असार २९ मा प्रधानमन्त्रीबाट बहिर्गमन हुनुभएको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहाय यादव, निवर्तमान प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालगायतका विशिष्ट व्यक्तित्व समारोहमा उपस्थित रहेको छ ।

नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले आजै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्नुहुने भएको छ । नवनियुक्त प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर कार्यभार संहाल्नुहुनेछ ।