तस्वीरमा एमालेका अध्यक्ष एवम् नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली

काठमाडौँ, असार ३१ गते । नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । नेपाली काङ्ग्रेसको समर्थनमा चौंथो पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएका एमाले अध्यक्ष ओलीले आज आइतबार बिहान ११ बजे महाराजगञ्जस्थित शीतल निवासमा राष्ट्रपतिबाट प्रधानमन्त्री पदको शपथ लिन लाग्नु भएको हो ।

एमाले संसदीय दलका नेता समेत रहनुभएको ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले हिजो आइतबार अपरान्ह नेपालको संविधानको धारा ७६ (२) बमोजिम नेपाली काङ्ग्रेस र नेकपा (एमाले) को समर्थनमा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीचको यही असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुन भएको हो । राष्ट्रपति पौडेलले शुक्रबार प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराह्न ५ बजेसम्मका लागि दिनुभएको थियो ।

चौंथो पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएका ओली नेपालको ४५ औँ प्रधानमन्त्री बन्नुभएको छ । प्रतिनिधिसभाको पहिलो ठूलो दल नेपाली काङ्ग्रेसको बैशाखी टेकेर प्रधानमन्त्री बन्नुभएको ओली आफ्नो स्वार्थपूर्ति गर्न माहिर मानिनुहुन्छ । गत फागुन २१ गते काङ्ग्रेस—माओवादी केन्द्रको गठबन्धन भत्काएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारमा सामेल भएको एमालेले अन्ततः काङ्ग्रेससँग मिलेर प्रधानमन्त्री प्रचण्डलाई नै सत्ताच्युत गर्दै सो पार्टीका अध्यक्ष ओली चौंथो पटक सरकारको नेतृत्व गर्न पुग्नुभएको हो ।