फाइल तस्वीर


काठमाडौँ, असार ३० गते । नेपाल कम्युनिस्ट पार्टी(एमाले)को नेतृत्वमा गठन हुन लागेको मन्त्रिपरिषद्मा नेपाली काङ्ग्रेस र एमालले बीच मन्त्रालयको भागबण्डा मिलेको छ । यी दुई दलहरुबीच भएको सहमति अनुसार एमालेले अर्थमन्त्रालयसहित ८ मन्त्रालय र काङ्ग्रेसले गृहसहित ९ मन्त्रालय लिने भएका हुन् ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेस र सत्ताको नेतृत्व गर्न लागेको दल एमालेबीच भएको सहमति अनुसार काङग्रेसले गृह, रक्षा, ऊर्जा, स्वास्थ्य, सहरी विकास, पर्यटन, कानुन, परराष्ट्र र वन मन्त्रालय पाउने छ भने एमालेको भागमा अर्थमन्त्रालयसहित, भौतिक योजना, सञ्चार, शिक्षा, उद्योग, सामान्य प्रशासन र भूमि व्यवस्था मन्त्रालय पाउने निश्चित् भएको छ ।

दुवै दलले आ—आफ्नो भागमा परेको मन्त्रालयमा कस–कसलाई पठाउने भन्ने कुरा दलहरु आफ्नैले तय गर्ने छन् । कुन कुन मन्त्रालयमा कस–कसलाई पठाउने भन्ने विषयमा काङ्ग्रेस–एमाले दुवै दलमा आन्तरिक गृहकार्य भइरहेको छ ।

एमालेले उपप्रधानसहित उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिने भएको छ भने काङ्ग्रेसबाट प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने बताइएको छ । काङ्ग्रेसले ग नेतृत्व बनाउने भएको छ भने काङ्ग्रेसले उपप्रधानमन्त्री दिएर प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा मन्त्रीहरू पठाउने तयारी छ । काङ्ग्रेसले गृहमन्त्रालयको जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्रका रुपमा चिनिनुहुने रमेश लेखकलाई दिने बताइएको छ । त्यसो त गृहमा उपप्रधानमन्त्री सहित गृहमन्त्रालयको जिम्मेवारी पाउन प्रकाशमान सिंहले दावी गर्नुभएको काङ्ग्रेसी एक नेताको भनाइ छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानकोे धारा ७६ (२) अनुसार एमाले अध्यक्ष खड्गप्रसाद ९केपी० शर्मा ओलीलाई आज आइतबार साँझसम्ममा प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गर्नुभएको छ । आज साँझमा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि सोमबार बिहान ११ बजे शपथग्रहण हुने बताइएको छ । प्रधानमन्त्रीले शपथग्रहण गरेपछि भोलि नै मन्त्रिमण्डल गठन हुने भएको छ ।