फाइल तस्वीर: नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष खड्गप्रसाद (केपी) शर्मा ओली ।


काठमाडौँ, असार ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले देशको नयाँ प्रधानमन्त्री नियुक्ति गर्दै हुनुहुन्छ । प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष खड्गप्रसाद (केपी) शर्मा ओलीलाई देशको नयाँ प्रधानमन्त्रीको रुपमा नियुुक्त गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते प्रतिनिधिसभाको बैठकमा राख्नुभएको विश्वासको प्रस्ताव असफल भए पछि राष्ट्रपति पौडेलले आज आइतबारसम्मको समयसीमा तोकेर नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गर्नुभएको थियो ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज साँझ ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान गरेलगतै प्रतिनिधिसभाको पहिलो दल नेपाली काङ्ग्रेसले दोस्रो ठूलो दल एमालेका अध्यक्ष ओलीलाई नयाँ प्रधानमन्त्रीको रुपमा समर्थन गर्दै राष्ट्रपति पौडेलसमक्ष १६६ जना सांसदहरुको हस्ताक्षर गरिएको पत्र बुझाइएको थियो ।

नयाँ सरकारका लागि राष्ट्रपति पौडेलले दावी पेस गर्न आह्वान गर्नुभएको समय सीमा आज आइतबार सकिने भएकाले साँझसम्म प्रधानमन्त्री पदमा नियुक्त गर्ने र ढिलोमा भोलि सोमबार बिहानसम्ममा प्रधानमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी शीतल निवासले गरेको छ । प्रधानमन्त्रीको शपथ ग्रहण सकिएलगतै नव नियुक्त प्रधानमन्त्रीले मन्त्रिमण्डल विस्तार गर्नुहुने र नवनियुक्त मन्त्रीहरुलाई भोलि नै पद था गोपनीयताको शपथ गराइने कार्यक्रम तय भएको बताइएको छ ।