काठमाडौँ, असार २८ गते । जनमत पार्टीका उपनेता अब्दुल खानले मुलुकको विद्यमान समस्या समाधान गर्न प्रभावकारी काम गर्ने स्थायी सरकार आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत विश्वासको मतमाथिको छलफलमा आफ्नो दलकातर्फबाट भाग लिँदै उहाँले मुलुकमा प्रभावकारी कार्यसम्पदान गर्ने सरकारको आवश्यकता परेकाले नयाँ सरकारलाई पार्टीले समर्थन गर्ने निर्णय गरेको स्पष्ट पार्नुभयो ।

“अहिलेका प्रधानमन्त्री दाहालले प्राथमिक उपचार गरे पनि आवश्यकता अनुसार शल्यक्रिया गर्नुभएन । त्यसैले विशेषज्ञ चिकित्सकको खोजी स्वरुप पार्टीले अब बन्ने नयाँ सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो”, उपनेता खानले भन्नुभयो, “वर्तमान सरकारलाई चार पटकसम्म विश्वासको मात दिएको हो । यसबीचमा मुलुक स्थिरता र उन्नतिको दिशामा अगाडि बढ्न सकेन ।”

साना दलहरु कुन मोहमा पर्नुभो भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति कटाक्ष गर्दै उपनेता खानले लोकतन्त्र, सङ्घीयता, सामाजिक न्यायप्रति जनमत पार्टी पूर्णरुपमा प्रतिबद्ध रहेको भन्दै कसैको दबाव र प्रभावमा नचल्ने बताउनुभयो ।

उपनेता खानले मुलुकको विभिन्न भागमा आएको बाढी, पहिरो, चट्याङ तथा करेन्ट लागेर ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित नागरिकको उद्धार र राहतको व्यवस्था गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।